अछाम । अभियानका रुपमा संचालन भैरहेको राष्ट्रिय परिचय पत्रका लागि विवरण संकलन गर्ने कार्य अन्तर्गत अछाम जिल्लामा बिहिबार सम्म १० हजार बढीको विवरण संकलन गरिएको छ ।
आगामी ३ महिनामा सम्पूर्ण नागरिकको विवरण संकलन कार्य गरिसक्ने गरी गत पौष २० गतेबाट शुरु गरिएको विवरण संकलन शिविरमा माघ १ गते सम्म १० हजार ९ सय जनाको विवरण संकलन गरिएको जिल्ला प्रशाशन कार्यालय अछामले जनाएको छ ।
हाल अभियानको रुपमा अछामका चार स्थानीय तहमा शिविर सञ्चालन गरी राष्ट्रिय परिचप पत्रका लागि विवरण संकलन तथा व्यक्तिगत घटना अद्यावधिक गर्ने कार्य भैरहेको छ । जस अनुसार बिहिबार सम्म मंगलसैन नगरपालिकामा ५ हजार ५ सय ८ जना, बान्नीगढी जयगढ गाउपालिकामा ३ हजार २ सय ७५ जना, कमलबजार नगरपालिकामा १ हजार ९ सय ९० जना र साँफेबगर नगरपालिकामा १ सय २७ जनाको विवरण संकलन गरिएको अछामका प्रमुख जिल्ला अधिकारी गोकर्ण प्रसाद उपाध्यायले जानकारी दिनुभयो ।
नागरिकहरुको वैयक्तिक तथा जैविक विवरण समावेश भएको राष्ट्रिय पहिचान सहितको बायोमेट्रिक सुविधायुक्त बहुउपयोगी प्रमाणपत्र राष्ट्रिय परिचय पत्रको रुपमा नेपाल सरकारले सबै नागरिकलाई दिने लक्ष्य राखेको छ ।
अछाम जिल्लामा आगामी ३ महिनाभित्र परिचयपत्रका लागि विवरण संकलन गर्ने कार्य सकिसक्ने लक्ष्य रहेको अछामका प्रमुख जिल्ला अधिकारी गोकर्ण प्रसाद बजगाईले जानकारी दिनुभयो ।
मंगलसैन नगरपालिका वडा नम्बर १३ बस्तीमा वडामा रहेका र नागरिकता प्राप्त गरेका सबैको विवरण संकलन कार्य सम्पन्न भैसकेको समेत जिल्ला प्रशाशन कार्यालयले जनाएको छ ।
वडाका वाँडा र बस्ती गरी २ ठाउँमा २÷२ जना अपरेटर सहित खटिएको टोलीले ८ दिनमा ९ सय ६२ जनाको विवरण संकलन गरि फर्किसकेको बताईएको छ ।
अछाम जिल्लामा राष्ट्रिय परिचयपत्रको विवरण संकलनका लागि कञ्चनपुर जिल्लाबाट ४७ जना तालिमप्राप्त अपरेटर आएका छन् भने उनीहरुले तदारुकताका साथ काम गरिरहेका बताईएको छ । हाल विभिन्न वडा तहमा सञ्चालन गरिएका शिविरमा नागरिकको सहभागिता बृद्धि भई घुईचो लाग्ने गरेको छ ।
Discussion about this post