काठमाडौं । दक्षिणी छिमेकी दिने भारतले आगामी २ हप्ताभित्रै कोरोना भाइरस संक्रमण विरुद्धको खोप नेपाल लगायत देशलाई बाँड्ने तयारी गरेको छ ।
भारतले छिमेकी मुलुकलाई २ करोड डोज कोरोना खोप दिने योजना अघि सारेको खबर भारतीय सञ्चारमाध्यम टाईम्स अफ इन्डियाले प्रकाशित गरेको छ ।
विश्वको सबैभन्दा धेरै खोप उत्पादन गर्ने देश बनेको भारतले खोप निर्यात गर्ने योजना बनाइरहेकोबारे समाचारमा उल्लेख छ ।
सरकारी अधिकारीलाई उदृत गर्दै प्रकाशित समाचारमा नेपालसहित भारतका ६ छिमेकी देशले खोप पाउने जनाइएको छ ।
समाचारमा उल्लेख भएको भारतको योजनाअनुसार घरेलु कम्पनीहरूले सेरम इन्स्टिच्युट र भारत बायोटेकबाट खोप खरिद गरी नेपाल, बंगलादेश, श्रीलंका, अफगानिस्तान, सेचेलेस र मौरिससमा निर्यात गर्नेछन् ।
भारतले निर्यात गर्ने खोपमध्ये केही सहयोगका लागि निःशुल्क समेत प्रदान गर्ने समाचारमा उल्लेख गरिएको छ ।
नेपाल लगायत छिमेकी देशमा खोप पठाएपछि मात्रै भारतले ल्याटिन अमेरिका, अफ्रिका लगायतका मुलुकमा खोप निर्यात गर्ने योजना बनाएको छ ।
संसारभर नै कोरोना खोपको माग भइरहेको र सबैले चासोका साथ हेरिरहेका बेला भारतमा खोप तयार भएको छ ।
भारतले बनाएको खोप वितरणमा छिमेकी देशलाई प्राथमिकतामा राखिएकाले नेपालले समेत यसबाट फाइदा लिनसक्ने भएको छ ।
कोरोनाको खोपलाई एजेन्डा बनाउँदै नेपालका परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली बिहीबार भारत भ्रमणमा गएका छन् ।
नेपाल–भारत संयुक्त आयोगको बैठकमा कोरोना विरुद्धको लडाइँका लागि खोपबारे समेत छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
यसअघि समेत भारतले कोरोना महामारी उत्कर्षमा रहेका बेला नेपाललाई स्वास्थ्य सामग्री प्रदान गरेको थियो ।
कोरोना विरुद्धको लडाइँमा सहकार्य गर्न भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच टेलिफोन वार्ता समेत भएको थियो ।
Discussion about this post