काठमाडौं – आज पुस २७ गते सोमबार परेको पृथ्वी जयन्तीलाई राष्ट्रिय एकता दिवसका रूपमा मनाउन २ स्थानीय तहले सार्वजनिक बिदा दिएका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले विजय प्राप्त गरेका स्थानीय तहहरू कचनकवल र हल्दिवारी गाउँपालिकाले बिदा दिने निर्णय गरेका छन् ।
यी दुवै गाउँपालिकाले सदाझैं यसवर्ष पनि पृथ्वी जयन्तीलाई राष्ट्रिय एकता दिवसका रूपमा मनाउने र सार्वजनिक बिदा दिने निर्णय गरेको समाचारले हर्षित र गौरवान्वित भएको राप्रपा नेता राजेन्द्र लिङ्देनले ट्विटरमा लेखेका थिए ।
तनहुँको शुक्लागण्डकी नगरपालिकाले पनि पृथ्वी जयन्तीका अवसरमा सोमवार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । नगरपालिकाले विज्ञप्ति सार्वजनिक गर्दै राष्ट्रिय एकीकरण दिवसका अवसरमा सोमवार नगर क्षेत्रमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
बिदाको दिन नगरपालिका र वडा कार्यालय तथा सामुदायिक विद्यालय बन्द रहने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गंगालाल सुवेदीले बताए । राष्ट्रलाई एकीकरण गर्ने पृथ्वीनारायण शाहको योगदानको सम्मानस्वरूप बिदा दिने निर्णय भएको सुवेदीले बताए ।
राप्रपाले पृथ्वी जयन्तीलाई भव्यताका साथ मनाउने माग गरेपनि संघीय सरकारले भने सार्वजनिक बिदा हटाएको छ । पृथ्वी जयन्तीलाई नेपाली सेना र राष्ट्रवादी शक्तिहरूले भव्यताका साथ मनाउने गरेका छन् ।
पृथ्वीनारायण शाहको योगदान स्मरण गर्दै आज पृथ्वी जयन्ती मनाइँदै
आज पृथ्वी जयन्ती, नेपाल एकीकरणका अभियन्ता पृथ्वीनारायण शाहको योगदान स्मरण गरेर मनाइँदैछ । गोर्खाली राजा नरभूपाल शाह र रानी कौशल्यावतीका जेठा छोराका रूपमा विसं. १७७९ पुस २७ गते जन्मिएका शाहले बाइसे(चौबीसे राज्यमा छरिएर रहेका राज्यहरुलाई एकत्रित गरेर आधुनिक नेपाल निर्माण गरेका थिए ।
भौगोलिक रुपमा नेपाल एकीकरण गरेकाले शाहलाई राष्ट्र निर्माताको उपमा समेत दिने गरिएको छ । पृथ्वी नारायण शाहले सम्पूर्ण नेपालीहरूलाई औँला माथि उठाएर राष्ट्रिय एकताको सन्देश दिएको सालिक तथा तस्बिरले आम नेपालीहरूलाई हरेक पल एकताको शिक्षा दिई रहेका छ।
सन् १८५८ देखि १९४७ का बिच उपनिवेश उन्मुख अङ्ग्रेजहरूले यस क्षेत्रका धेरैजसो राज्यलाई आफ्नो नियन्त्रणमा लिए । उपनिवेश नै नभने पनि अङ्ग्रेजको डरले करिब ५ सय ६२ वटा बाइसी-चौबीसी राज्यहरूले अङ्ग्रेजलाई कूत बुझाउँथे । यो परिस्थितिलाई अध्ययन गर्ने हो भने पृथ्वीनारायणले निर्माण गरेको नेपालले आफ्नो स्वतन्त्रता मात्र कायम राखेन, यसले ब्रिटिस साम्राज्य र शक्तिशाली चिनियाँहरूसँग जटिल कूटनीति लडाइलाई समेत विजय हासिल गरेको देखिन्छ।
नेपालको एकीकरण गर्ने उद्देश्यबाट नै प्रेरित भई पृथ्वीनारायण शाहले बनारसबाट हातहतियार बनाउने कारखानाको निरीक्षण गरी हातहतियार बनाउने र मर्मत गर्ने मुसलमान कालिगड, केही हातहतियार र मुसलमान योद्धाहरू समेत गोर्खामा ल्याएका थिए भन्ने इतिहासमा पढ्न पाइन्छ।
पृथ्वीनारायण शाहले नुवाकोटको पहिलो पराजित पछि दोस्रो पटक वि।सं १८०१ मा कालु पाण्डेको सेनापतित्वमा करिब हजार जना फौजले नुवाकोटमाथि हमला गरी नुवाकोटमाथि विजय प्राप्त गरे। नुवाकोट गोरखालीहरूको कब्जामा भएकाले नुवाकोटका सिपाहीहरू भागी वेलकोटमा अड्डा जमाई बसेकाले कालु पाडेको तत्काल हमला नगर्ने सल्लाहलाई उपेक्षा गरी पृथ्वीनारायण शाहले वेलकोटमा हमला गरे।
पृथ्वीनारायण शाहको काठमाडौं उपत्यका र पूर्वी क्षेत्र विजय गर्ने इच्छा रहेकाले आफ्ना प्रवल विरोधी शक्ति लमजुङका राजा रिपुमर्दन शाहसँग विसं १७९९ मा एक मैत्रीपूर्ण सन्धि गरेको पनि इतिहासकारहरूको भनाई छ उक्त सन्धि अनुसार दुवै राज्यबिच मैत्री सम्बन्ध कायम गर्ने कास्कीको अर्घामाथि कब्जा गर्न सफल भएमा त्यहाँको काठ कास्कीलाई दिने आदि शर्तनामा उल्लेख थियो।
नेपालको एकीकरण गर्न पृथ्वी नारायण शाह काठमाडौं र गोरखा बिचमा पर्ने नुवाकोट भू(भागलाई जितेर काठमाडौंमा प्रवेश गरेका थिए। काठ्माडौंको चन्द्रागिरि डाँडाबाट जब काठमाडौंलाई नियालेका थिए। त्यस क्षणमा काठमाडौंको सौन्दर्यताले पृथ्वी नारायण शाहलाई लालायित बनाएको थियो ।
रणनितिका कौशल र कुशल नेतृत्व भएका पृथ्वी नारायण शाहले इन्द्रजात्राको दिन काठमाडौं माथि विजय हासिल गरे भने कुशल रणनीति लगाएर क्रमशः ललितपुर, भक्तपुर, कीर्तिपुर अनि अन्य भू-भागहरू जितेका हुन।
पुर्खाको त्यागको जगमा निर्माण भएको राष्ट्र समुन्नत बनाउने दायित्व हाम्रो काँधमाः राष्ट्रपति
राष्ट्रपति विद्यादेवी भण्डारीले २९९औँ पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा नेपाल एकीकरण अभियानका नायक पृथ्वीनारायण शाहप्रति श्रद्धासुमन अर्पण गर्दै स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गर्नुभएको छ ।
गोरखाका राजा पृथ्वीनारायणले नेपाल एकीकरणको जग बसालेको तथा विविध धर्म, संस्कृति, भाषा र परम्परालाई संरक्षण गरी सबल राष्ट्रिय एकता निर्माण गर्ने फराकिलो आधारभूमि नेपाल एकीकरणले तयार गरेको जनाउँदै राष्ट्रपतिले बहुलताबीच सद्भावपूर्ण एकता हाम्रो राष्ट्रिय सामर्थ्यको सदुपयोग गर्दै अघि बढ्न सके मुलुकले विकासमा फड्को मार्ने विश्वास व्यक्त गर्नुभएको छ ।
पुर्खाको त्याग, बलिदान र समर्पणको जगमा निर्माण भएको राष्ट्रलाई समुन्नत बनाउने गहन दायित्व आज हाम्रो काँधमा आएको बताउँदै राष्ट्रपतिले आजको दिनले राष्ट्रियता, राष्ट्रिय अखण्डता, सार्वभौमसत्ता, स्थिरता र समृद्धिका लागि सम्पूर्ण नेपालीलाई एकै सूत्रमा बाँध्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनापछि नेपाल सरकारले अघि सारेको ‘समृद्ध नेपाल सुखी नेपाली’को राष्ट्रिय सङ्कल्प पूरा गरी आत्मनिर्भर र समाजवादोन्मुख सुदृढ अर्थतन्त्र निर्माण गर्न सबैलाई प्रेरणा मिलोस् भन्ने कामना पनि राष्ट्रपति भण्डारीले गर्नुभएको छ ।
नेपाल विश्व मानचित्रमा सदैव एक स्वाधीन र सार्वभौम राष्ट्रका रूपमा रहिआएको छ । विसं १७७९ पुस २७ गते जन्मिनुभएका तत्कालीन गोरखाका राजा पृथ्वीनारायणले जनताको साथ र सहयोग लिँदै मुलुकभित्र उपलब्ध स्रोत र साधनको उपयोग गरी आपसी कलहमा फसेका ससाना राज्यलाई एकीकरण गर्न सफलता हासिल गर्नुभएको थियो ।
नागरिकको इच्छा र चाहनाबाट नै मुलुकको शासन सञ्चालन गर्नुपर्छ भन्ने मान्यतालाई उहाँले अनुसरण गर्नुभयो । नेपालको भूअवस्थितिको आत्मबोध गर्नुभएका पृथ्वीनारायणले राष्ट्रलाई सुदृढ र समृद्ध बनाउन तथा मुलुकको अविच्छिन्न एकतालाई बलियो बनाइराख्न सदा स्मरणीय सन्देश छाडेर जानुभएको छ । उहाँका उपदेशले राष्ट्रिय आत्मनिर्भरता हासिल गर्नका लागि आवश्यक सीप र क्षमता विकास गर्नुपर्ने खाँचोलाई दर्शाएका छन् ।
Discussion about this post