काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नातागोताको मात्र पार्टी नभएको बताउनुभएको छ ।
नेकपा ओली समूहले आज धनगढीमा आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पुष्पकमल दाहाल प्रचण्डलाई लक्षित गर्दै नेकपा छोरी-बुहारीको पार्टी नभएको बताउनुभएको हो ।
‘नेकपा छोरी–बुहारीको पार्टी होइन् । नेकपा जनताको पक्षमा काम गर्ने पार्टी हो ।
काम लाग्छ कि भनेर प्रचण्डलाई पनि पार्टीमा ल्याएँको थिएँ । विचार, प्रवृति र मति जस्ताको तस्तै ।
टिक्न सक्नुभएन उहाँहरुले’, उहाँले भन्नुभयो, ‘अँध्यारोमा हिँड्ने बानी भएका उज्यालो भएपछि हिँड्न सकेनन् ।’
नेकपाका अध्यक्षसमेत रहेका ओलीले वैशाख १७ र २७ गते नै चुनाव हुने दाबी गर्नुभएको छ ।
उहाँले सरकारले चुनाव गर्नेमा आशंका नगर्न आग्रहसमेत गर्नुभयो ।
साथै, ओलीले विदेशीको इशारामा काम गर्नेलाई बहिस्कार गर्न आग्रह गर्नुभएको छ ।
त्यस्ता तत्वहरुलाई भोट नहाल्न पनि अपील उहाँले जनतालाई अपिल गर्नुभएको छ ।
‘प्रतिनिधि सभा अब चुनावबाट आउँछ । केपी ओलीले चुनाव गर्दैन भनेका छन् । चुनाव वैशाख १७ र २७ गते नै हुन्छ ।
साथीहरु ढुक्क हुनुस्’, उहाँले भन्नुभयो, ‘चुनावको तयारीमा लाग्नुस् । तलैबाट गलत तत्वहरुलाई ठिक लगाउनुस् ।
देश र जनताका लागि काम गर्नेलाई जिताएर पठाउनुस् ।’
त्यस्तै ओलीले परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली माघ १ गते छिमेकी देश भारतको भ्रमणमा जाने जानकारीसमेत दिनुभएको छ ।
Discussion about this post