काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले पुराना मन्त्रीको जिम्मेवारी हेरफेरसहित नयाँ मन्त्रिपरिषद् विस्तार गरेका छन् ।
प्रधानमन्त्री ओलीले राज्यमन्त्रीसहित ९ मन्त्री थपेका छन् । प्रतिनिधिसभा विघटन गरेको ६ दिनपछि प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।
नयाँ थपिएका मन्त्रीमा टोपबहादुर रायमाझी, मणि थापा, प्रभु शाह, प्रेम आले, गणेशसिंह ठगुन्ना, गौरीशंकर चौधरी, दावा लामा, जुलीकुमारी महतो, विमला विश्वकर्मा रहेका छन् ।
रायमाझीलाई ऊर्जामन्त्री, थापालाई खानेपानीमन्त्री, साहलाई सहरी विकासमन्त्री, ठगुन्नालाई सामान्य प्रशासनमन्त्री बनाइएको छ ।
लामालाई भने युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिइएको छ । त्यस्तै, महतोलाई महिला तथा बालबालिका मन्त्रालय, आलेलाई वन मन्त्रालय, चौधरीलाई श्रम, विश्वकर्मालाई उद्योग राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ।
यसअघि उद्योग राज्यमन्त्री रहेका मोती दुगडलाई भने हटाइएको छ ।
त्यस्तै, ६ जना मन्त्रीको जिम्मेवारी हेरफेर गरिएको छ । भानुभक्त ढकाललाई स्वास्थ्य मन्त्रालयबाट पर्यटनको जिम्मेवारीमा पठाइएको छ, हृदयेश त्रिपाठीलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

महिला मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका लीलानाथ श्रेष्ठलाई कानुनमन्त्रीको जिम्मेवारी दिइएको छ भने कानुनबाट शिवमाया तुम्बाहाङ्फेलाई भूमिसुधार मन्त्रालयमा सारिएको छ ।
पद्मा अर्याललाई भने भूमिसुधारबाट कृषिमन्त्रीको जिम्मेवारीमा सारिएको छ । युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्मालाई भने जिम्मेवारीबाट मुक्त गरिएको छ ।
संसद विघटनपछि प्रचण्ड-नेपाल समूहका मन्त्रीले राजीनामा दिएपछि रिक्त रहेका मन्त्री पदमा शुक्रबार ओलीले नयाँ मन्त्री नियुक्ति गरेका हुन् ।
प्रतिनिधिसभा विघटनपछि प्रचण्ड-नेपाल पक्षका मन्त्रीहरु पर्यटनमन्त्री योगेश भट्टराई, कृषिमन्त्री घनश्याम भुसाल, उर्जामन्त्री बर्षमान पुन, शिक्षामन्त्री गिरिराजमणी पोखरेल, वनमन्त्री शक्ति बस्नेत, श्रममन्त्री रामेश्वर राय यादव र खानेपानीमन्त्री विना मगरले सामुहिक राजीनामा दिएका थिए ।
Discussion about this post