नेपाली क्रिकेट टिमको मुख्य प्रशिक्षकमा डेभ वाटमोर नियुक्त भएका छन् ।
नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार एक विज्ञप्ती जारी गर्दै अष्ट्रेलियाली नागरिक वाटमोरलाई मुख्य प्रशिक्षक नियुक्त गरेको जानकारी दिएको हो । यस्तै रौनकबहादुर मल्ल महाप्रबन्धक, विनोद कुमार दास क्रिकेट म्यानेजर र रमेश कुमार न्यौपाने चिफ फाइनान्स अफिसर नियुक्त भएको सचिव अशोकनाथ प्याकुरेलले विज्ञप्ति निकालेर जानकारी दिएका छन् । उनीहरुको नियुक्ति सन् २०२१ को जनवरी १ बाट लागू हुनेछ । मूख्य प्रशिक्षकमा नियुक्त भएका
वाटमोर श्रीलंकामा जन्मिएका अस्ट्रलियन क्रिकेटर हुन् । उनले विश्वकप समेत जितेका थिए ।
उनले सन् १९९६ मा मुख्य प्रशिक्षकको हैसियतमा श्रीलंकालाई विश्वकपको उपाधि दिलाएका थिए । विश्वमै सफल र अनुभवीमध्येका प्रशिक्षक उनी दक्षिण एसियाली क्रिकेटलाई राम्रोसँग बुझेका प्रशिक्षक हुन् । उनले श्रीलंकापछि पाकिस्तान, बंगलादेश र जिम्बाबेजस्ता टेस्ट टोलीलाई प्रशिक्षण दिएका छन् । यस्ता अनुभवी प्रशिक्षकको नेतृत्वमा नेपालले थप ठूला प्रगति हासिल गर्ने अपेक्षा गरिएको छ । वाटमोरले तीन वर्षअघि नेपाली टोलीलाई छोटो समय प्रशिक्षण दिएका थिए । ब्याट एन्ड बल फाउन्डेसनको व्यवस्थापनमा वाटमोरले झन्डै दुई साता नेपाली क्रिकेटरलाई प्रशिक्षण दिएका थिए ।
Discussion about this post