१० दिनसम्म देवताकाे आराधना सहित लाग्ने केदारनाथ मेला सम्पन्न

92
SHARES
509
VIEWS

टेकराज भण्डारी, अछाम । लगातार १० दिनसम्म देवताकाे धेवल आराधाना सहित लाग्ने अछामकाे एकमात्रै केदारनाथ मेला आज सम्पन्न भएको छ । याे बर्ष सीमित व्यक्तिको सहभागीतामा नियमित पुजाआजकाे काम सहित मेला सम्पन्न भएको हाे ।

अछामकाे कमलबजार नगरपालिका वडा नम्बर ७ जामागाउँमा लाग्ने केदारनाथ मेला आज केदार र छडाल देवताले मन्दिरमा दूध र घ्यु खाएसंगै सकिएको हाे । हरेक बर्ष कात्तिक शुक्ल पञ्चमीदेखि कात्तिक शुक्ल चतुर्दशीसम्म धेवल र मेला लाग्ने गर्दछ । ९ दिनसम्म धेवल अर्थात् देवताकाे पुजा आराधाना र धामीले खला नाच्ने गर्दछन् । विगतका बर्षमा कात्तिक शुक्ल त्रयाेदशीकाे दिन ठुलाे संख्यामा व्यक्तिको उपस्थिति सहित रात्री मेला लाग्ने गरेकाेमा याे बर्ष काेराेना भाइरस काेभिड १९ काे संक्रमणकाे कारण नित्य पुजा सहित मेला समापन गरिएको साविककाे सेरा गाविसका पूर्व अध्यक्ष दिपक अधिकारीले बताउनु भयाे ।

१० दिनसम्म देवताकाे पुजा, खला नाच्ने र रात्री मेला तथा केदारनाथ मन्दिरमा दूध, घ्यू चढाउने केदारनाथ मेलाकाे बिशेषता हाे । अछाम जिल्लाकाे भैसाेले क्षेत्रकाे अन्तिम मेलाका रुपमा जामाकाे जात्रालाई लिने गरिन्छ । मेलाकाे अवसरमा डेउडा, न्याउले खेल खेल्ने गरिन्छ ।

रात्री मेलामा धामीकाे नाच आकर्षकका रुपमा रहन्छ । केदार र छडाल देवताकाे नृत्यलाई मेलाकाे प्रमुख आकर्षणका रुपमा हेर्ने गरिएको स्थानीय काँसीराम खतिवडाले बताउनु भयाे ।

धामीकाे नाच रात्री मेला र मन्दिरमा समेत रहने गर्दछ । केदार, छडाल र बेताल गरि ३ देवताका धामीले देवताकाे कला देखाउने गर्दछन् । रात्रि मेलामा छडाल देवताले करिब २० मिटर माथि घरकाे माथिल्लो तलाकाे काैसीबाट खसालिने पानी पिउने गर्दछन् भने केदार र बेताल देवताले बाघ र बिरालाेकाे नृत्य समेत देखाउने गर्दछन् । परापूर्व कालदेखि डाेटीकाे बडीकेदारबाट अछामकाे सेरा जामागाउँमा बसाेबास गर्न आउनेले मेला ल्याएकाे र त्यहीबेला देखि नै मेला लाग्ने गरेकाे मन्दिरको पुजारी खडकराज खतिवडाले बताउनु भयाे ।

१० दिनसम्म लाग्ने मेला र मेलालाई दाेस्राे दशैँकाे रुपमा यश क्षेत्रका स्थानीयले लिने गर्दछन् । तर मेलामा कुनै बलि नचढाई धामीले दूध र घ्यू खाने गर्दछन् । अहिंसात्मक रुपमा मेला मनाईने गरिन्छ भने देउवताका धामी दलित समुदाय र पुजारी गैरदलित समुदायका रहेका छन् । यसबाट केदारनाथ मेला अहिंसा र सद्भावकाे पर्याय भएको स्थानीय अगुवा देवानन्द खतिवडाकाे भनाई छ ।

याे बर्ष मेला नित्य पुजा र आराधाना सीमित व्यक्तिको सहभागितामा शान्तिपूर्ण रुपमा सम्पन्न भएको वडा नम्बर ७ का वडा सदस्य खम्मबहादुर भण्डारीले बताउनु भयाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार