काठमाडौँ – कोरोना विरुद्धको खोप आविष्कार भएको दाबीसहितका खबर सार्वजनिक भएलगत्तै नेपालमा कहिले खोप आइपुग्ला भन्ने विषयमा आम चासो बढेको छ।
अमेरिकी कम्पनी फाइजरले उत्पादन गरेको कोरोनाविरुद्धको खोप ९० प्रतिशत सफल भएको दाबी गरिएसँगै उक्त खोप नेपालमा कहिले आइपुग्ला भन्नेबारे जनचासो बढेको हो।
विज्ञहरुले सफल मानिएको उक्त खोप नेपाल आइपुग्न कम्तीमा पनि ६ महिना लाग्न सक्ने बताएका छन्। जनस्वास्थ्यविद डा. रवीन्द्र पाण्डेले सन २०२१ को मध्यसम्ममा कोरोनाविरुद्धको खोप नेपालमा पुग्न सक्ने अनुमान गरिएको बताउनुभयो।
भूराजनीतिक अवस्थाका कारण नेपालले कोरोनाविरुद्धको खोप अरु देश भन्दा छिट्टै प्राप्त गर्न सक्ने विश्वास गर्दै उहाँले तर त्यसका लागि पनि कम्तीमा ६ महिना जति समय लाग्न सक्ने बताउनुभयो।
तर जनस्वास्थ्यविद डा. बाबुराम मरासिनीलाई भने नेपालले छिट्टै कोरोनाविरुद्धको खोप प्राप्त गर्ने कुरामा विश्वास छैन। उहाँले अमेरिकामा व्यवसायिक कम्पनीले उत्पादन गरेको खोप जसले सुरुमै खरिद गर्न सक्यो उसले नै पाउने सम्भावना धेरै रहेने भएकोले नेपालले छिटो प्रक्रिया सुरु गर्नेमा आशा गर्न नसकिने बताउनुभयो।
विश्वका धेरै सरकारहरुले अग्रिम बुकिङ थालिसकेकोले नेपालले प्राथमिकता पाउने कुरामा विश्वास गर्ने ठाउँ नरहेको उहाँको भनाई छ। तर नेपाल सरकारले अमेरिकी सरकारसँग समन्वय गर्न सकेमा भने परिस्थिति भिन्नै हुन सक्ने उहाँको भनाई छ । अमेरिकी कम्पनी फाइजरले उत्पादन गरेको खोपले ९० प्रतिशत सफलता हात पारेपछि विश्व समुदाय कोरोनाविरुद्ध विजय पाउनेमा आशावादी छ।
तर कतिपयले ९० प्रतिशत सफल भएको कुरालाई ९० प्रतिशत उत्पादन नै भैसकेको रुपमा बुझिरहेका छन्। यो बुझाई भने सत्य नरहेको डा. पाण्डेले बताउनुभयो। उहाँले कोरोनाको खोप आविष्कार भैसक्यो भन्दैमा जनस्वास्थ्य मापदण्डको पालनामा लापर्वाही नगर्न पनि आग्रह गर्नुभयो।
पाखुरीमा खोप नलागेसम्म जनस्वास्थ्य मापदण्डको कडाईका साथ पालना गर्नु अनिवार्य बाध्यता रहेको उहाँले बताउनुभयो ।अमेरिकी औषधि उत्पादक कम्पनी फाइजरले कोरोना भाइरसविरुद्ध आफूले बनाइरहेको खोप ९० प्रतिशत प्रभावकारी देखिएको जानकारी गत सोमबार दिएको थियो। कम्पनीका अनुसार विश्वका ६ देशका ४३ हजार मानिसमा खोप परीक्षण गरिँदा ९० प्रतिशत सफल ठहरिएको छ ।
जर्मन कम्पनी बायोएन टेकसँगको सहकार्यमा अमेरिकी कम्पनी फाइजरले बनाइरहेको खोपको यो विकास र प्रभावकारितालाई ‘विज्ञान र मानवताका लागि’ सबैभन्दा महत्वपूर्ण भनिएको छ।नेपालि नेटवर्कबाट साभार
Discussion about this post