बुटवल । रुपन्देहीको बुटवलबाट पैदल हिँडेरै कैलालीको टीकापुर जान लागेका ४२ जना श्रमिकलाई सैनामैना नगरपालिकाको क्वारेन्टाइनमा राखिएको छ। लकडाउनका कारण सार्वजनिक सवारी साधन नचलेपछि उद्योग र निर्माण क्षेत्रमा काम गर्ने श्रमिकहरु प्रहरीलाई छल्दै हिँडेरै बुटवलबाट सैनामैनाको मुर्गियामा पुगेका बेला स्थानीयले देखेपछि रोकेका हुन्।
स्थानीयले नगर प्रमुख चित्रबहादुर कार्कीलाई जानकारी गराएपछि ४२ जनालाई नै क्वारेन्टाइनमा राखिएको छ। समूह–समूह बनाएर राजमार्गमा हिँडेरै बुटवलबाट आएका उनीहरुलाई रोकेर क्वारेन्टाइनमा लगेर राखिएको नगर प्रमुख कार्कीले बताउनुभयो।
रुपन्देहीबाट कैलालीसम्म हिँडेर जाँदा कोरोना संक्रमणको जोखिम हुनसक्छ भनेर उनीहरुलाई रोकिएको उहाँले बताउुभयो। उनीहरुलाई सैनामैनाको वडा नं. १ बनकट्टास्थित प्राकृतिक चिकित्सालयमा बनाइएको क्वारेन्टाइनमा राखेर स्वास्थ्य परीक्षण गरेर मात्रै घर जान दिइने नगर प्रमुख कार्कीले बताउनुभयो।
नगरपालिकाका स्वास्थ्य निरीक्षक हेमराज पन्थीले क्वारेन्टाइनमा राखिएका सबैको स्वास्थ्य परीक्षण गरिने र हालसम्म चेकजाँच गरिएकाको अवस्था सामान्य रहेको जानकारी दिनुभयो। लकडाउनले उद्योग, कारखाना र निर्माण क्षेत्रका काम बन्द भएपछि मजदुरहरु लामो दुरी पैदल भएपनि घर जाने क्रम रोकिएको छैन ।
Discussion about this post