बझाङ । लकडाउनको उल्लंघन गर्दै ‘बान्नीकी चैतली’ मेला सञ्चालन गरेको आरोपमा प्रहरीले छविसपाथीभेरा गाउँपालिकाका चार जना वडाध्यक्षसहित नौ जनालाई पक्राउ गरेको छ । बुधबार साँझ पक्राउ परेका सबैलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको बझाङबाट बसन्त प्रताव सिंहले कान्तिपुरमा समाचार लेख्नुभएको छ ।
पक्राउ पर्नेमा छविसपाथीभेरा २ का वडाध्यक्ष विकास अयडी, ३ का वडाध्यक्ष केशवराज जोशी, वडा नं ४ का अध्यक्ष अमर थापा र ५ का वडाध्यक्ष लोकेन्द्र ठगुन्ना रहेका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी नेत्र बोहराले बताए । पक्राउ परेका अन्यमा बान्नीकी चैतली मेला व्यवस्थापन गरिरहेका बान्नी मष्टा मन्दिर संरक्षण समिति कोषाध्यक्ष राजेन्द्रबहादुर सिंह, बान्नी मष्टाका पुजारी नृपराज जोशी र जयकृष्ण जोशी छन् ।
यस्तै बान्नी मष्टा मन्दिरका फूलपाती सेवक डम्मर धामी, मन्दिरका रजवार इन्द्रबहादुर सिंहलाई पनि लकडाउन उल्लंघनको अभियोगमा पक्राउ गरिएको बोहराले बताए । पक्राउ परेका वडाध्यक्षहरुले बान्नी मेलामा मानिसहरुको उपस्थिति रोक्न गाउँपालिकाले प्रयास गर्दागर्दै पनि स्थानीयहरु स्वत:स्फूर्त भेला भएको बताएका छन् । मेलामा स्थानीयहरुको भीड रोक्नका लागि प्रशासनले समेत सहयोग नगरेको उनीहरुको आरोप छ ।
‘मेलामा उपस्थित नहुनका लागि हामीले जिल्लाका सबै रेडियोबाट सूचना प्रसारण गरेका थियौं । गाउँगाउँमा सूचना टाँसेका थियौं’ वडा नं २ का अध्यक्ष विकास अयडीले भने ‘त्यति गर्दा गर्दै पनि स्थानीयहरु उर्लेर आए । प्रहरी प्रशासनको पनि उपस्थिति नभएपछि हामीले कसरी रोक्ने ?’ उनले आफूहरुलाई बिनाकारण पक्राउ गरिएको र यसमा जनप्रतिनिधिहरुको दोष नरहेको बताए ।
Discussion about this post