मंगलसैनको क्वारेन्टिनको व्यवस्थापन प्रभावकारी

311
SHARES
278
VIEWS

टेकराज भण्डारी

अछाम । अछाम सदरमुकाम मंगलसैनमा स्थापना गरिएको क्वारेन्टिनको प्रभावकारी व्यवस्थापन गरीएको पाईएको छ । कोरोना प्रभावित देश भारतबाट फर्केका ३८ बयस्क र १२ बालबालिका गरी ५० जनालाई जिल्ला कृषि ज्ञान केन्द्रको भवनमा बनाईएको क्वारेन्टिनमा राखिएको थियो । क्वारेन्टिनमा के कस्तो हुने हो भनेर आशंका गरेकाहरु राम्रो व्यवस्था रहेको पाएपछि सन्तुष्ट बनेका पाईएको छ । क्वारेन्टिनको प्रभावकारी व्यवस्थापन गरिरहेको अछामका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले जानकारी दिनुभयो । उनीहरुका लागि ओढ्ने ओछ्याउने लुगा, खानेपानी बिजुली बत्ति लगायतको उचित व्यवस्था रहेको छ । दिनमा दुईपटक खाना, नास्ता, २ पटक चिया लगायतको व्यवस्था समेत गरिएको जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक समेत रहनु भएको प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिनुभयो ।

विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाईरस नियन्त्रणका लागि यो सबै कार्य गरिएको भन्दै प्रमुख जिल्ला अधिकारी पौडेलले क्वारेन्टिनमा बस्ने कार्य ती व्यक्तिहरु र उनीहरुको परिवारकै हितका लागि भएकाले यसलाई अन्यथा लिन नहुनेमा जोड दिनुभयो । १४ दिनको धैर्यताले सिंगो देशलाई नै महामारीबाट जोगाउने भएकाले आफै एकान्तबास बस्ने, लक डाउन तथा कफ्र्यूको पालना गर्ने, भिडभाडमा नजाने लगायतकाल साबधानीका कार्य गर्न प्रमुख जिल्ला अधिकारी पौडेलले जिल्लाबासीमा आग्रह गर्नुभयो । उहाँले भारतबाट फर्केलाई सकेसम्म क्वारेन्टिनमा राख्ने कार्य भएको यदि कोही घरमै भए उनीहरुलाई अनिवार्य एक्लै बस्न र सुरक्षाका सावधानी अपनाउन आग्रह गर्नुभयो ।

क्वारेन्टिनको व्यवस्थापनको जिम्मेवारी मंगलसैन नगरपालिकाले गरिरहेको छ । क्वारेन्टिनमा बसेकाहरुका लागि आवश्यक व्यवस्था गरिएको र प्रभावकारी व्यवस्थापनका लागि नगरपालिका जुटिरहेको मंगलसैन नगर प्रमुख पदम बहादुर बोहराले बताउनु भयो । क्वारेन्टिनमा बसेकाहरु सबैको स्वास्थ्य अवस्था समेत सामान्य रहेको जिल्ला स्वास्थ्य कार्यालय अछामका प्रमुख झनकराज ढुंगानाले बताउनु भयो । यस्तै कोरोनाको आशंकामा आईसोलेशनमा रहेकाहरुको स्वास्थ्य अवस्था समेत सुधार भैरहेको उहाँले बताउउनु भयो । उनीहरुको स्वास्थ्यमा सुधार आएको र निको भएपछि उनीहरुलाई भोलि डिस्चार्ज गरिने तयारी रहेको प्रमुख ढुंगानाले जानकारी दिनुभयो ।

अछामको जंगलघाट लगायतका क्षेत्रबाट हिडेरै घर आउन थालेका कुरा सुनिन आएकोले त्यसको सम्भावित जोखिमबाट समेत बच्नुपर्ने प्रमुख ढुंगानको भनाई छ । त्यस क्षेत्रमा भारतबाट आउनेले अनिवार्य एक्लै बसी सुरक्षाका उपाय अपनाउनुपर्नेमा उहाँको जोड छ । यसैवीच आज जिल्ला प्रशाशन कार्यालय अछाममा सरोकारवालवीचको बैठकले लक डाउन तथा कफ्र्यलाई थप प्रभावकारी बनाउने निर्णय गरेको छ । भारतबाट फर्केका सबैलाई एक्लै बस्न तथा सुरक्षाका उपाय अपनाउन आग्रह गर्ने, कोही कसैले पनि लक डाउन र कफ्र्यको पूर्ण पालना गर्नुपर्ने, नियम उलंघन गरेका पाईएमा कारबाही गर्ने, कोरोनाबाट बच्ने उपाय लगायतका विषयमा सन्देश प्रशारण गर्ने लगायतका कार्य गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी पुण्यबिक्रम पौडेलले बताउनु भयो ।

बैठकले साँफेबगर र कमलबजारमा क्वारेन्टिन बनाउने विषयमा समेत छलफल गरेको छ । बैठकमा जिल्ला समन्वय समिति अछामका प्रमुख नरबहादुर कुँवर, प्रमुख सेनानी लाचन कार्की, मंगलसैन नगरप्रमुख पदम बोहरा, साँफेबगर नगरप्रमुख कुल बहादुर कुँवर, कमलबजार नगरप्रमुख ओम प्रकाश बिष्ट, पञ्चदेवल विनायक नगरप्रमुख देबराज देवकोटा, प्रहरी नायब उपरिक्षक डिएसपी दीपक भारती, शशस्त्र प्रहरी बलका डिएसपी देबेन्द्र बहादुर सिंह, जिल्ला स्वास्थ्य प्रमुख झनकराज ढुंगाना, सहायक प्रमुख जिल्ला अधिकारी नन्दकिशोर यादव लगायतको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार