काठमाडौं – सोनाम ल्होछार पर्वका अवसरमा आगामी माघ १० गतेदेखि लगातार ३ दिनसम्म सार्वजनिक बिदा दिने निर्णय काभ्रेको रोशी गाउँपालिकाले गरेको छ । पर्वलाई भव्यताका साथ मनाउन माघ १०, ११ र १२ गते सार्वजनिक बिदा दिने निर्णय गरेको गाउँपालिकाले जनाएको छ ।
संविधानतः सबै धर्म समुदायको समान अधिकार भए अनुरुप सबै पर्वमा सार्वजनिक बिदा दिँदै आएको गाउँपालिका अध्यक्ष दलबहादुर लामाले बताएका छन् । ‘सबै पर्वलाई उल्लासमय बनाउन राष्ट्रिय एवम् स्थानीय सबै पर्वमा सम्मानजनक ढंगले गाउँपालिकामा सार्वजनिक बिदा दिने गरिएको छ,’ उनले भने । उनका अनुसार ल्होछारका अवसरमा गाउँपालिकाका विभिन्न स्थानमा विभिन्न सांगीतिक कार्यक्रम समेत आयोजना गरिने छ ।
यसअघि माघ १ गते रीतिरिवाज, चाडपर्व तथा संस्कृतिको जगेर्ना गर्ने जनाउँदै माघे संक्रान्ति पर्वका अवसरमा पाँचखाल र मण्डनदेउपुर नगरपालिका तथा महाभारत र रोशी गाउँपालिकाले सार्वजनिक सूचनामार्फत् सार्वजनिक बिदा गरेका थिए ।
Discussion about this post