काठमाडौं । जिल्ला अदालत चितवनले ‘आत्महत्या दुरुत्साहन’ को अभियोगबाट पत्रकार रवि लामिछाने, युवराज कँडेल र अर्की एक युवतीलाई सफाइ दिएको छ । पत्रकार शालिकराम पुडासैनीको आत्महत्यामा दुरुत्साहन गरेको गरेको आरोपमा चितवन प्रहरीले तीन जनामाथि मुद्दा चलाएको थियो ।
न्यायाधीश हेमन्त रावलको इजलासले तीन जनामाथि कसुर स्थापित नहुँने ठहर गर्दै आरोपबाट सफाइ दिएको हो । पुडासैनी गएको साउन २० मा चितवनको कंगारु होटलको २०२ नम्बर कोठामा झुन्डिएको अवस्थामा फेला परेका थिए । प्रहरीले बरामद गरेको उनको मोबाइलमा रहेको भिडियो रेकर्डमा शालिकरामले आफूसँग प्रेम सम्बन्धमा रहेकी युवतीले आफ्ना बारेमा नकरात्मक समाचार बनाउन ‘सिधा कुरा जनतासँग’ कार्यक्रमका संचालक रवि लामिछाने र युवराज कँडेललाई उक्साएकाले आत्महत्या गर्न बाध्य हुनुपरेको बताएका थिए ।
फैसलामा के छ ?
चितवन जिल्ला अदालतको फैसलाअनुसार शालिकराम पुडासैनीको मृत्यु आत्महत्याबाटै भएको हो । मृत्युका कारणका रुपमा उनी झुन्डिएको भन्ने पोष्टमार्टम रिर्पोट छ भने अरु घाउचोट र डाम भेटिएको थिएन । उनले खिचेको सेल्फी भिडियोमाथि प्रश्न उठेकोमा इजलासले ‘फोटोग्राफीमा अभ्यस्त एउटा व्यवसायिक फोटोग्राफरले राम्ररी सेल्फी फोटो र भिडियो खिच्न सक्छ’ भनी विशेषज्ञले गरेको बकपत्रलाई प्रमाणका रुपमा लिएको छ ।
नेपालमा आत्महत्या सम्बन्धी नजिर छैन । ०७४ सालमा नयाँ मुलुकी फोजदारी संहिता ऐन आएपछि मात्रै आत्महत्याका लागि गरिने दुरुत्साहन कसुरका रुपमा परिभाषित भएको हो । -कान्तिपुर दैनिकबाट
Discussion about this post