शेखर, चन्द्र र मीनबहादुरको एउटै स्वर– लगानी प्रक्रिया सहज भए नेपालमा कायापलट हुन्छ

17
SHARES
92
VIEWS

११ पुस, । चन्द्रागिरि हिल्सका अध्यक्ष चन्द्र ढकाल सातै प्रदेशमा केबलकार बनाउने योजनामा छन् । गोल्छा समूहका अध्यक्ष शेखर गोल्छा नेपालका गाउँ–गाउँसम्म कृषिमा हिमालय ब्राण्ड स्थापित गर्न चाहन्छन् । भाटभटेनी सुपरमार्केटका अध्यक्ष मीनबहादुर गुरुङलाई १७ वटामात्रै होइन, नेपालका थप सहरमा भाटभटेनी सुपरमार्केट खोल्ने सपना जागेको छ ।

उनीहरूलाई लाग्छ, यसरी नै सबै लगानीकर्ताहरू जाग्ने हो भने १५ वर्षभित्रै नेपाललाई कायापलट गर्न सकिन्छ । त्यसो भए नेपालमा आद्योगिक तथा व्यावसायिक ब्राण्ड स्थापित गरिसकेका यी उद्यमीलाई लगानी विस्तार गर्न के कुराले रोकेको छ त ?

यो प्रश्नमा उनीहरूको एउटै स्वर छ– नेपालमा लगानी गर्ने उत्साहजनक वातावरण नै छैन । लगानी गर्न सरकारी प्रक्रिया यति जटिल छ, काम सम्पन्न गर्ने समयभन्दा प्रक्रिया पूरा गर्न बढी समय लाग्छ । सरकारले निजी क्षेत्रलाई समृद्धिको पार्टनरका रूपमा हेर्दैन ।’

नेपालमै उद्योग र व्यावसायिक सफलता हात पारेर ब्राण्ड स्थापित गरेका ३ घराना । गोल्छा समूहका अध्यक्ष शेखर गोल्छा, ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्र ढकाल र भाटभटेनी सुपरमार्केटका अध्यक्ष मीनबहादुर गुरुङ ।

सानो लगानी र थोरै पुँजीबाट व्यावसायिक जीवन सुरु गरेका यी उद्यमीले कसरी यत्रो सफलता हात पारे ? अहिले नेपालमा लगानीको अवसर र सम्भावना कस्तो छ ? कुन ठाउँमा लगानीको योजना बनाउँदै छन् ? यी ३ उद्यमीले संवाद गरे । सन्दर्भ थियो, ‘उज्यालो बागलुङ, समृद्ध बागलुङ ।’

बागलुङ महोत्सवको पूर्वसन्ध्यामा बागलुङ उद्योग वाणिज्य संघले नेपाली उद्यममा ब्राण्ड बनेका ३ जना उद्यमी एउटै मञ्चमा राखेर संवाद गराएको हो । गण्डकी प्रदेशको आर्थिक तथा लगानी नीतिका विषयमा अर्का वक्ता थिए, आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङ । सहजीकरणमा थिए, प्रभु बैंकका सीईओ अशोक शेरचन ।

केन्द्रमा बागलुङमा लगानीको अवसर र सम्भावनाको विषय थियो । तर, बागलुङले पनि समग्र नेपालकै प्रतिनिधित्व गर्ने भएकाले बहसको जोड लगानीको वातावरण र प्रतिफलतिरै केन्द्रित भयो ।

गोल्छाले हजुरबुवाले दुःख गरेर सुरु गरेको व्यवसायको विरासत सम्झे । व्यावसायिक परिवारको विरासतलाई अझ विस्तार गर्दै थप ब्रान्ड स्थापित गर्दै नेपाल सरकारपछि धेरै रोजगारी दिने कम्पनीसमेत बनेको गोल्छाले बताए ।

ढकालले बागलुङबाट ३ हजार ५ सय रूपैयाँ बोकेर काठमाडौं छिरेर अहिले यो ठाउँमा आइपुगेको बताए । खोटाङको किसान परिवारमा जन्मेका गुरुङले ३५ हजारमा सुरु गरेको भाटभटेनीमा अब ५० हजारलाई रोजगारी दिने सपना बोकेर हिँडेको सुनाए ।

नेपालमा सरकारी जटिल नीति, जग्गा प्राप्तिको समस्या र लगानीको प्रतिफल आउने ग्यारेन्टी अझै हुन नसकेको उनीहरूको भनाइ छ ।

सातै प्रदेशमा केबलकार बनाउने योजना बुनेका ढकालले बागलुङसँगै गण्डकी प्रदेशको सिग्लेस कोरी र नवलपुरको मौलाकालीमा पनि केबलकार बनाउने योजनामा रहेको सुनाए । तर, सरकारी प्रक्रिया जटिल भएकाले समस्या पारेको उनको भनाइ थियो । ‘सरकारी प्रक्रिया सहज बनाइदिनुस् । १८ महिनामा मौलाकालीमा केबलकार सञ्चालनमा ल्याउँछौं,’ ढकालले भने, ‘त्यति नै समयमा कास्की सिक्लेसको कोरीमा केबलकार बनाउँछौं । राज्यले वातावरण त बनाइदिनु पर्‍यो नि ।’

चन्द्रागिरिमा केबलकार बनाउने काम २ वर्षमा सकिएको तर लगानीको प्रक्रिया पूरा गर्नै ५ वर्ष लागेको ढकालले बताए ।

नेपालमा लगानीका निम्ति पहिलेभन्दा वातावरण बनेको भए पनि अझै उत्साहजनक नरहेको उनको भनाइ थियो ।गोल्छा समूहका अध्यक्ष शेखर गोल्छाको भनाइ पनि उस्तै छ । सरकारी मेकानिजम सहज हुने हो भने १५ वर्षभित्रै देश कायापलट गर्न सकिने गोल्छा बताउँछन् । ‘हाम्रा नेताले भनेझैं देश समृद्ध बनाउन सकिन्छ । हाम्रो सरकारी संयन्त्र पुरानो भयो । लगानी बढाउन सरकारी नीति सहज हुनुपर्‍यो’, गोल्छाले भने, ‘हामी बागलुङका गाउँठाउँमा पनि ब्राण्ड विस्तार गर्न तयार छौं ।’

भाटभटेनी सुपरमार्केटका अध्यक्ष मीनबहादुर गुरुङ नेपालमा व्यवसाय गर्न फलामको चिउरा चपाउनुपर्ने बताउँछन् । ‘बागलुङजस्ता ठाउँमात्रै होइन । संसारभर भाटभटेनी पुर्‍याउँछु भन्ने लक्ष्य लिएर हिँडेको छु’, गुरुङले अगाडि भने, ‘नेपालमा व्यवसायीलाई लगानी गर्नै गाह्रो छ ।’

सहजकर्ता शेरचन र ग्लोबल आइएमी बैंकका अध्यक्षसमेत रहेका ढकाल बागलुङमै जन्मेका हुन् र सहजकर्ता बागलुङमै लगानी भित्राउनेबारेमै जोड दिन्छन् । ३ वर्षभित्र बागलुङमा लगानी भित्राउन सक्ने सम्भावनाबारे ३ जनालाई शेरचनले जिज्ञासा राखे ।

ढकालले बागलुङमा केही न केही गर्न आतुर रहेको र प्रतिफलको ग्यारेन्टी भए छिट्टै लगानी भित्राउने बताए ।

गोल्छा समूहका शेखरले बागलुङमा ठूलो अर्गानिक उत्पादन हुन सक्छ भने आफ्नो ब्रान्ड ल्याउन तयार रहेको प्रतिबद्धता जनाए । सरकारले जग्गा मिलाइदिने हो भने १० महिनाभित्र बागलुङमा भाटभटेनी खोल्ने गुरुङले बताए ।

जुनसुकै लगानीकर्ता पनि प्रतिफलको ग्यारेन्टी हेरेरमात्र आउने ढकालको भनाइ थियो । लगानी भित्राउनेसम्बन्धी सरकारको मेकानिजम साह्रै पुरानो र थोत्रो भइसकेको ढकालले गुनासो गरे । सरकारी मेकानिजमले निजी क्षेत्रलाई समृद्धिको पार्टनर सम्झन नसकेको उनको भनाइ थियो ।

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले नेपालमा लगानीको सम्भावना र चुनौती दुवै रहेको बताए । घाटा खानका लागि कुनै पनि लगानीकर्ता लगानी गर्न नआउने बताउँदै गोल्छाले चुनौती चिरेर अवसर र सम्भावना लेखाउने काम सरकारको भएको बताए ।

सरकारले नीति बनाउने र त्यही नीतिअनुसार लगानी गर्ने काम व्यवसायीको भएको अर्थमन्त्री गुरुङले बताए । समृद्ध नेपाल निर्माणका निम्ति निजी क्षेत्र साझेदार भएको बताउँदै गुरुङले जग्गा प्राप्तिदेखि राज्यका कारण जटिलता उत्पन्न छन् भने हटाउन गण्डकी प्रदेश तयार रहेको प्रतिबद्धता जनाए । भूमिनीति बनिरहेको र त्यसपछि लगानीका निम्ति जग्गा प्राप्ति सहज हुने गुरुङको भनाइ थियो ।

‘समृद्ध नेपालका निम्ति समृद्ध अर्थतन्त्र चाहिन्छ । समृद्ध अर्थतन्त्रका निम्ति पुँजी निर्माण हुनुपर्छ । व्यवसाय र उद्यमबाट त्यो पुँजी निर्माण हुन्छ, उत्पादनसँग गाँसिएरमात्रै राष्ट्रिय पुँजी निर्माण गर्न सकिन्छ’, अर्थमन्त्री गुरूङले भने, ‘उद्यमीले लगानी गर्नुस्, हामी सुरक्षाको ग्यारेन्टी गर्छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार